मानेभञ्ज्याङ ,असोज २१ । चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोस्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिंहपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो । पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको छ । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो । कुन्जमान थापाले तेस्रो मिनेटमा नै गोल गरेका थिए । २३ औ मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए । खेलको ४८ औ मिनेटमा कुन्जमानले व्यक्तिगत दोस्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए ।

विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५ औ मिनेटमा गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ चाँदले सेमिफाइनलमा स्थान बनाउन सफल रहयो । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा दलसिंहपाडा स्पोर्टस एकाडेमीलाई सडनडेथमा हराउँदै बिएसकले अन्तिम ४ मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा धकेलिएको खेलमा जलपाइगुडीले जित निकालेको हो । मेसुके ओलमाउले १५ औ मिनेटमा गोल गर्दै जलपाइगुडीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गरे । कप्तान हेमराज भुजेलले ३६ र सुजल मुण्डा (पोग्वा) ले ५४ औ मिनेटमा गोल गरेपछि दलसिंहपाडा खेलमा फर्किएको थियो । सडनडेथमा दलसिंहपाडा भाग्यमानी सावित हुन सकेन । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा सिरिजंघा स्पोर्टिङ क्लब भद्रपुरले कञ्चनजंघा एफसी सिलिगुडीको सामना गर्नेछ ।

सिरिजंघाले मोहम्मडन एथ्लेटिक कोलकत्ता र कञ्चनजंघाले हिमालयन शेर्पा काठमाण्डौलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका थिए । प्रतियोगितामा नेपालका ५ र भारतका ११ क्लबको सहभागिता छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैयाँ (५ लाख भारु) तथा उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । फाइनल खेल अक्टोबर १५ तारिक हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्