झापा, असोज २१ । शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

इजरायल जानुअघि त्रिभुवन बिमानस्थलमा विदाई गरिएका नेपाली विद्यार्थी

अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि यसबारे दूतावासले औपचारिक जानकारी गराएको छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएन) इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया– ३ का आशिष चौधरी, दार्चुला लेकमा– ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली– ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् ।
अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा– २ का विधान सेजवाल, दाङ दङ्गिशरण–३ का प्रवीण डाँगी, कैलाली टीकापुर– ९ का धनबहादुर चौधरी, गोरखा– ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त– ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी– १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती– ४ का वीरेन्द्र चौधरी प्रहरी कस्टडीमा सुरक्षित छन् ।

१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए ।
प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस ) का रहेको बताइएको छ ।

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्