शिवसताक्षी , असोज २१ । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा रहेको पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ ।

पारिजातले झिलझिलेको किराँत राई यायोख्खाको सभाहलमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
स्थापनाको दोस्रो वर्ष पूरा भएको सहकारीले भब्य रुपमा कार्यक्रम गर्दै सबै शेयर सदस्यहरुको उपस्थितिमा सभा गरेको जनाएको छ ।

सहकारी संस्था स्थापना भएको छोटो समयमा अपेक्षाकृत शेयर सदस्य बनाउन सफल सहकारी संस्थामा हाल ८७२ जना शेयर सदस्य रहेको पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले बताएका छन् ।

१ करोड २४ लाख बराबरको चुक्ता पूँजी रहेको संस्थामा ८१ लाख रुपैयाँ सदस्यमा नै लगानी गरेको पारिजातका व्यवस्थापकसमेत रहेका संस्थाका सचिव सागर राईले जानकारी दिए । संस्थाले आ.व. २०७९–०८० मा ९ लाख ९६ हजार ४४५ रुपैयाँ आम्दानी र १६ लाख ८० हजार ७५६ रुपैयाँ खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा अध्यक्ष अधिकारीले आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
दोस्रो वार्षिक साधारणसभाको अवसरमा संस्थाले असल बचतकर्ताको रुपमा हर्क बोमिख, सरोज खड्का, असल कारोबारकर्ताको रुपमा मञ्जिल नेपाल र असल बाल बचतकर्ताको रुपमा लुसाङ थिङलाबुलाई सम्मान गरेको थियो ।

पारिजात सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता शिवसताक्षी वडा नम्बर ८ का अध्यक्ष सन्तकुमार फेउदिनको रहेको थियो भने विशिष्ट अतिथिमा भापा जिल्ला सहकारी संघका सदस्य राजनारायण राजवंशी रहेका थिए ।

त्यस्तै,अतिथिमा वडा नम्बर ११ का वडा सदस्य एलिना राई, वडा नम्बर १ का वडा सदस्य तथा कार्यबाहक अध्यक्ष पूर्णजंग चेम्जोङ,पूर्व नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामा, शिवसताक्षीका विभिन्न सहकारीका अध्यक्ष र प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सचिव सागर राईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्