एजेन्सी । इजरायल सरकारले शनिबार हमासले गरेको आक्रमणमा परि मारिनेको संख्या ७ सय भन्दा बढी रहेको जनाएको छ ।

मारिनेमा इजरायली सैनिक पनि छन् । इजरायलमा म्यूजिक फेस्टिभल मनाइरहेको ठाउँमा हमासले आक्रमण गर्दा एकैठाउँमा २सय ५० भन्दा बढीको शव भेटिएको उद्धारकर्ताहरुले बताएका छन् ।

इस्लामिक अतिवादी समूह हमासले शनिबार एकै पटक फरक–फरक स्थानमा योजनाबद्ध आक्रमण गर्दा २ हजारभन्दा बढी घाइते भएको इजरायल सरकारको फेसबुक पेजमा लेखिएको छ । त्यसैगरी १ सयभन्दा बढीलाई बन्धक बनाएको जनाइएको छ ।

आक्रमणको प्रतिशोधमा इजरायलले प्यालेस्टाइनी भूभाग गाजामा गरेको आक्रमण गर्दा बालबालिकासहित ४ सय १३ जना मृत्यु भएको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी २२ सय जनाको घाइते भएको बताइएको छ । इजरायली प्रत्याक्रमणका कारण गाजामा १ लाख २३ हजारभन्दा बढी प्यालेस्टाइनी विस्थापित बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । बिस्थापितमध्ये ७४ हजार जनाले विद्यालयहरुमा आश्रय लिइरहेको जनाइएको छ ।

इजरायली सुरक्षाफौज आइतबार पनि देशको दक्षिणी क्षेत्रमा हमास लडाकुविरुद्ध संघर्षमा रहेको गार्डियनले जनाएको छ । इस्लामिक अतिवादी समूह हमासको आक्रमणपछि प्यालेस्टायनमा आक्रमण सुरु गरेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र शत्रुले महँगो मूल्य चुकाउनु पर्ने बताएका छन् । हमासले थप आक्रमणको तयारी गरेको जनाएको छ ।

शनिबार भएको आक्रमणमा नेपालसहित विभिन्न देशका नागरिकको समेत मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्