एजेन्सी । प्यालेस्टाइन र इजरायलबीच जारी भीडन्तमा परी १२ सयभन्दा बढीको मृत्यु भएको छ ।

हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा ४९३ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ७५१ जना प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ । हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायलाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भएको छ ।

इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बोर्डर नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक संगीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष संकलन गरिएको जनाएको छ ।आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकु विमान पठाउन लागेको बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्