झिलझिले, असोज २२ । झापामा पाँचवटा सेवाकेन्द्र रहेको शिवसताक्षीकै प्रतिष्ठित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९–०८० मा तीन करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ नाफा कमाएको छ ।
संस्थाको १७ औ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार १४ करोड ३ लाख ६७ हजार ८०० रुपैँया चुक्ता शेयर पुँजी रहेको सो संस्थाले ११ करोड ६३ लाख ४४ हजार १४० रुपैयाँ आम्दानी गरेको हो । झापाको शिवसताक्षीमा मंगलबारे र जनतामा गरेर दुईवटा सेवाकेन्द्र छन् । यस्तै, कनकाईको सुरुङ्गा ,दमकको दमक र कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र छन् ।
गत आर्थिक वर्षमा छिमेकीले ३९ करोड २० लाख ८० हजार ८५१ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका कार्यकारी निर्देशक नरप्रसाद ओली (नविन)ले बताए । उनका अनुसार आर्थिक मन्दीका बावजुद निक्षेप र कर्जा असुली दर संस्थाको लक्ष्य अनुसार नै भएको छ ।
गत आ.व.को असार मसान्तसम्म ६५ करोड ३४ लाख ८७ हजार ५३५ रुपैयाँ लगानीमा रहेको थियो । चालु आ.व.को यो अवधिसम्ममा उक्त अंक घटेको निर्देशक ओलीले बताए ।
४ हजार २४० जना शेयर सदस्य रहेको संस्थाले सम्पत्ति र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ रुपैयाँको वासलात बनाउनसमेत सफल भएको छ । सो संस्थाको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षित पुँजी कोष छ ।
संस्थाको भवन झिलझिलेमा सोमबारदेखि सुरु इकाईगत साधारणसभा असोज २७ गते सम्पन्न हुनेछ । मंगलबार जनता, बुधवार दमक, बिहीबार मंगलबारे, शुक्रबार सुरुङ्गा र कमलको केर्खाबाट सदस्यको राय सुझाव संकलन गरेर २७ गते शनिवार झिलझिलेस्थित प्रधान कार्यालयबाट नयाँ नेतृत्वसहित संस्थाको सत्रौ वार्षिक साधारणसभा सम्पन्न हुने जनाइएको छ ।साधारणसभाको उद्घाटन सत्रमा संस्थाका सदस्य यज्ञराज ओलीले पाँच जना कर्मचारीलाई नगदसहित सम्मान गरेका थिए । माधव पोख्रेल झिलझिले, मिना अधिकारी दमक, लक्ष्मण तामाङ झिलझिले र रमेश ढकाल केर्खा सेवाकेन्द्रका कर्मचारी जनही नगद ५ हजार १०५रुपैयाँसहित सम्मानित भएका हुन् ।
यस्तै संस्थाले सुशिल न्यौपाने, केशव आचार्य, खगमाया अधिकारी र गरिमा श्रेष्ठलाई पनि सम्मान गरेको छ भने संस्थाका पूर्व कर्मचारी नेत्र कोइरालालाई भव्य समारोहका बीच सम्मानसहित विदाई गरिएको छ । उनले संस्थाबाट स्वेच्छिक अवकास लिएका थिए ।
छिमेकी बचत तथा ऋण सहकारी संस्थामा नियमित कारोवार गर्ने जगतमणि उप्रेती, राजन (नवराज) न्यौपानेसहित ३९ जनालाई संस्थाले सम्मान गरेको छ । संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्कीलगायतको उपस्थिति रहेको थियो । पर्शुराम ढुंगानाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उदयप्रकाश राईले गरेका थिए ।