झापा,असोज २२ । होटलमा आफूलाई कालोमोसो दलेपछि बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले बदला लिएरै छाड्ने एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतलाई चेतावनी दिएका छन् ।

ओलीलाई हजुरबुवा मान्दै आएका प्रसाईले आफूलाई कालोमोसो दलेपछि सामाजिक संजालमार्फत त्यस्तो चेतावनी दिएका छन् । उनले लेखेका छन् ,‘ हजुरबुबा के. पी. ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ ! तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छन् !
प्रतीक्षा गर्नुहोस् !!’

प्रसाईलाई एउटा समूहले आज कान्तिपथस्थित होटल यल्लो प्यागोडामा कालोमोसो दलेको थियो ।
राजनीतिक रुपमा उग्र विचार राख्दै आएका उनले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् । माओवादी छाडेर गत आमनिर्वाचनअघि एमाले प्रवेश गरेका प्रसाई एमाले अध्यक्ष ओलीका अन्धभक्त थिए । ओलीलाई हजुरबा भनेर सम्बोधन गर्थे । चुनावमा टिकट नपाएपछि उनी एमाले छाडेर राजावादी आन्दोलनमा सहभागी भएका हुन् । झापा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरेका प्रसाई पछि झापा ३ का लागि पूर्वाधार तयार गर्दै थिए तर, एमाले अध्यक्ष ओलीले झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग तालमेल गर्ने भएपछि प्रसाईले टिकट पाएका थिएनन् ।

विगतमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भक्तपुरस्थित निवासमा जुम्लाको मार्सी चामलको भात खुवाएपछि उनी मार्सी नामले पनि प्रख्यात छन् ।

मार्सी उपनामले प्रख्यात विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्नेहरु एमाले कार्यकर्ता भएको बताएका छन् । आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले दुव्र्यवहार गरेको उनको भनाइ छ । देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग–पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उनले बताए । राजनीतिक रुपमा उग्र विचार राख्दै आएका प्रसाईले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् । उनी आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्