एजेन्सी । शनिवारदेखि जारी इजरायल र हमासबीचको संघर्षमा मृत्यु हुनेहरुको संख्या करिव १६ सय पुगेको छ ।

हमासले इजरायलमा गरेको आक्रमणमा परी करिव ९ सय जनाको ज्यान गएको छ । इजरायलको सांगीतिक कार्यक्रममा सहभागी भएकाहरुमाथि हमासले आक्रमण गर्दा एकैठाउँमा २६० जनाको मृत्यु भएको थियो ।

त्यस्तै इजरायलले गरेको प्रत्याक्रमणबाट ६९० जना प्यालेस्टाइनी मारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न संघर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ ।

इजरायल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानले सुरक्षित बनाउने प्रयास भइरहेको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता डेनियल हगारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको शनिवार हमासले आक्रमण शुरु गर्दा गाजापट्टीमा पर्खाल भत्काएका थिए ।

हमास समूहविरुद्ध ‘ठूलो शक्ति’ प्रयोग गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । तर, प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरूविरुद्ध इजरायलको आक्रमण तत्काल रोक्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्