झापा, असोज२४। इजरायलबाट १० जना नेपालीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान जाने भएको छ ।नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरूको निधन भएको थियो ।यसैगरी, आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्