विनोद सापकोटा,
झापा, असोज २४ । इलामको चुलाचुली गाउँपालिकाले पालिकाभित्र रहेका बुहारीहरुलाई निःशुल्क पढाउन थालेको छ ।

गएका वर्षदेखि बुहारी शिक्षा कार्यक्रम नै सञ्चालन गरेर सो गाउँपालिकाले बाहिरबाट विवाह गरेर आएका बुहारीलाई निःशुल्क उच्च शिक्षा दिन थालेको हो ।शिक्षाको पहुँचमा पुग्न कमजोर आर्थिक अवस्था भएका घरका बुहारीलाई गाउँपालिकाले नै खर्च ब्यहोरेर पढाउन थालेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

विवाह गरेर श्रीमान्को घर आएका महिलालाई आर्थिक अवस्थाका कारण थप शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए । ‘गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छ,’ अध्यक्ष केरुङले भने ‘बिद्यालयलाई निःशुल्क बस वितरण, बिद्यालयमा पढ्दै कमाउँदै जस्ता शिक्षाको विकासका कार्यक्रम पालिकाले सञ्चालन गरिरहेको छ ।’

पालिकाको सहयोगबाट एस.एल.सी. पास गरेको अठार बर्षपछि पढ्न पाउँदा खुशी लागेको वडा नम्बर २ बाह्रगोठेस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत बुहारी छात्रा कमला भट्टराई ढुंगानाले बताइन् । ‘पढ्ने रहर हुँदाहुँदै विवाह भएर आउनु परेको र आर्थिक अवस्थाका कारण पढ्ने रहर पुरा हुन नसकेको बेला गाउँपालिकाको बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरेर आफ्नो रहर पुरा भएको छ,’ उनले भनिन्।

गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरेपछि चुलाचुली गाउँपालिकाको सामाजिक सञ्जालमा प्रशंसा बढ्न थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्