मानेभञ्ज्याङ , असोज २४। बिएसके जलपाइगुडी सातौ मानेभञ्ज्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७–२ गोल अन्तरको फराकिलो जितका साथ जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) पुरस्कार सुरक्षित गरेको हो । खेलको सुरुवातबाट दबाब बनाएको जलपाइगुडीले ५ औ मिनेटमा अग्रता बनाउन सफल रह्यो । करण राईले जलपाइगुडीका लागि फ्रिकिकमार्फत पहिलो गोल गरे ।
१९ औ मिनेटमा सिलिगुडीले खेल बराबरी गर्न सफल रह्यो । १९ औ मिनेटमा अनिश राईले फ्रिकिकमार्फत गोल गरेका थिए । २३ औ मिनेटमा करणले व्यक्तिगत दोस्रो गोल गरे । २६ औ मिनेटमा पेनाल्टीमार्फत खेल बराबरी गर्न अवसरलाई अनिश राईले खेर फाले । स्टेफेनले डिबक्सभित्र लडाएपछि पाएको अवसर बारमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको सुरुवातमै सिलिगुडीका अविशेक लिम्बू रातो कार्ड खाँदै मैदान बाहिरिएको फाइदा उठाएर जलपाइगुडीले थप ५ गोल गर्न सफल रह्यो । दोस्रो हाफको २ मिनेट नबित्दै स्टेफेन समिरमाथि फाउल गरेपछि उनले कार्ड पाएका थिए । लगतै करण राईले फ्रिकिकमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ४५ औ मिनेटमा करणको प्रहारमा गोलरक्षकबाट रिबाउन्ड भएर आएको बललाई स्टेफेनले जाली चुमाउँदै गोल अन्तर ४–१ बनाए ।

४९ औ मिनेटमा प्रतिक लामाको क्रसलाई सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुनियरले गोल गरे । ५६ औ मिनेटमा अनिश राईको पासलाई राम राईले जाली चुमाउँदै गोल अन्तर ५–२ मा झारे । ६१ औ मिनेटमा स्टेफेनको क्रस पासमा गोलरक्षकलाई नघाउँदै जुनियरले व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयमा स्टेफेनले गोल गरेपछि ७–२ गोल अन्तरको साथ जलपाइगुडी फाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच जलपाइगुडीका करण राई घोषित भए । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल चाँद एफसी र टेरिटोरियल आर्मीबीच हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्