झापा, असोज २५ । बिर्तामोड वडा नम्बर ५ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश हो ।

बिर्तामोड–५ लाई जित दिलाउन विक्की चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९ औं मिनेटमा बिर्तामोड ७ विरुद्ध गोल गरेका थिए । उनको लामो प्रहार गोलरक्षकले बचाउन गर्न सकेनन् ।
खेलमा गोल गर्ने थुर्पै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बिर्तामोड ७ ले पराजय भोग्यो ।
खेलमा बिर्तामोड ५ का २ खेलाडीले पहेँलो कार्ड पाएका थिए । रोचक राईले २० मिनेट र नितेश लिम्बूले ६० मिनेटमा पहेँलो कार्ड पाए ।

आजको खेलमा एक मात्र गोल गर्दै टिमलाई जित दिलाएका बिर्तामोड–५का खेलाडी विक्की चौधरी ‘म्यान अफ दि म्याच’ चुनिए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनले पुरस्कार प्रदान गरेका थिए ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भोलि बिर्तामोड वडा नम्बर १ र वडा नम्बर २ बीच खेल हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्