बिर्तामोड, असोज २५ । चारपानेमा बिहीवारबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले विजयी सुरुवात गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा ११ ले बाहुनडाँगी एफसीलाई ३–१ गोल अन्तरले हराएको हो ।झापा ११ का लागि समिर गुरुङ, प्रदिप बुढाथोकी र मनिष लिम्बूले गोल गरे । बाहुनडाँगीका तर्फबाट सेवन मगरले सान्त्वना गोल फर्काए ।

सुरुवातदेखि नै बाहुनडाँगीलाई दबाबमा राखेको झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । विहीवारको खेलको प्लेयर अफ द म्याच झापा ११ का प्रदिप बुढाथोकी भए । उनले नगद तीन हजार पाए ।
प्रतियोगितामा झापाका आठवटा क्लबहरूको सहभागिता रहेको छ । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्