बिर्तामोड , असोज २५ । झापाको बिर्तामोडबाट ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई आज बिर्तामोडबाट पक्राउ गरेको हो ।

बिर्तामोड ७ बस्ने ३२ बर्षीय डिल्लीबहादुर खड्काले लागूऔषध ब्राउनसुगर सेवन तथा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट आज दिउँसो २ बजे पक्राउ गरेको थियो । पक्राउ परेका खड्काको जानकारीका आधारमा अरु थप २ जना पक्राउ परेका हुन् ।

पछि पक्राउ पर्नेमा बिर्तामोड ९ बस्ने ३० बर्षीय मोहन टुडू र सोही ठाउँका ३७ वर्षीय सोम मर्डी रहेका छन् । टुडू र मर्डीलाई प्रहरीले बिर्तामोड– ३ बिर्ताबजारस्थित गोसलाइनबाट आज साँझ ४ बजे पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९८ ग्राम २४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । उनीहरु लागूऔषध प्रयोगकर्ता तथा कारोबारी भएको जनाइएको छ ।

साथै प्रहरीले उनीहरुले चलाउँंदै आएको २ वटा मोटरसाइकल र १ वटा स्कुटर पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्