झापा, असोज २६ । नेकपा एमालेले हिजो अर्जुनधारामा भएको तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका विक्रम लिम्बू बीएण्डसी हस्पिटलका क्यान्टिनका संचालक रहेको खुल्न आएकोले उचित छानबिन गरी दोषीमाथि कार्वाही गर्न माग गरेको छ ।

‘कसको निर्देशनमा क–कसको संलग्नतामा यो आतंकपूर्ण घटना रचियो , यसको उचित छानबिन गरी दोषीमाथि कार्वाही र तोडफोड भएका सवारीसाधनको उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग जोडदार माग गर्दछौं’ नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पहिचानवादीको नाममा अर्जुनधारामा भएको अराजक , अराजनीतिक र हिंसात्मक गतिविधिको भत्र्सना गर्दै विज्ञप्तिमा सरकारले यस्ता गतिविधिहरुमाथि तत्काल नियन्त्रण नगरे प्रतिवाद गर्ने चेतावनीसमेत दिइएको छ । त्यस्तै राष्ट्रिय युवा संघ झापाले अर्जुनधारामा भएको सवारीसाधन तोडफोडको घटनामा संलग्नहरुलाई कारबाही गर्न जोडदार माग गरेको छ । संगठनको प्रथम नगर अधिवेशनमा सहभागी नेता कार्यकर्ताहरुको दर्जनौ सवारीमा तोडफोड भएपछि युवा संघले एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।

अर्जुनधाराको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत र विशिष्ट अतिथिको रुपमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे सहभागी थिए । उक्त कार्यक्रम बिथोल्न पहिचानवादी र दुर्गा प्रसाईका समर्थक सहभागी भएका थिए ।

पहिचानवादीका नाममा दुर्गा प्रसाईका समर्थकहरुले सवारीमा तोडफोड गरेको युवा संघको ठहर छ । युवा संघले विज्ञप्तिमा भनेको छ, कानुनी राज्यको धज्जी उडाउदै मनपरी अभिव्यक्ति दिने प्रसाईले एमाले नेताहरु विरुद्ध भाडामा मान्छेको प्रयोग गरेको छ ।

गैरकानुनी , अराजक, लोकतन्त्र विरोधी गतिविधि गर्ने पहिचानवादी र दुर्गा प्रसाईका सहभागी हुने सबै कार्यक्रमहरु विथोल्ने युवा संघले घोषणासमेत गरेको छ । युवा संघका संयोजक फुर्वा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत तोडफोडमा संलग्न फरार व्यक्तिहरुको खोजी गरी तत्काल कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्