झापा, असोज २६ । नेपाली नागरिकतासहित भारत प्रवेश गरेका एक चिनिया नागरिक काँकडभिट्टा नाकामा पक्राउ परेका छन्।
चिनिया नागरिकलाई सहयोग गरेको आरोपमा भारतीय एसएसबीले दुई जना नेपाली नागरिकलाई समेत पक्राउ गरेको छ। नेपाल–भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनिया नागरिक ली शियाकाङ , उनलाई सहयोग गर्ने सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारी पक्राउ परेका हुन्। उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए।
सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए। तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन।
एसएसबीका जवानलाई उनीमाथि शंका लागेर नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा चीनबाट नेपाल आएको खुलेको थियो। त्यसपछि चिनिया नागरिकसहित तीनै जनालाई पक्राउ गरी खोरीबारी प्रहरीलाई जिम्मा लगाएको थियो ।
प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ।