झापा, असोज २७ । भारतको सिक्किममा विगत ११ दिनदेखि सम्पर्कविहीन बनेका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षीय कुमार बस्नेत र छोरी ९ वर्षीया खुसी बस्नेत सम्पर्कमा आएका हुन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताइन् ।

उनीहरू निर्माण कार्यमा ज्याला मजदुरीका लागि सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।

नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरू बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो । सिक्किममा बाढीका कारण ९४ जनाको मृत्यु भएको छ भने ७८ जना बेपत्ता छन् । त्यस्तै १ हजार ८२५ वटा घर क्षतिग्रस्त भएको र २ हजार ५६३ जना बिस्थापित बनेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्