झापा , असोज २७ । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिने भएका छन्।

शनिबार प्रदेश संसदीय दलको बैठकमा उनले राजीनामा दिने बताएका हुन्। उनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिन लागेका हुन्। थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए। उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो।
केदार कार्की कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको थियो। कार्कीले एमालेको साथ पाएपछि गठबन्धनको निर्णयलाई पन्छ्याएर उनी मुख्यमन्त्री बनेका हुन्।