झापा, असोज २७ । बिर्तामोड–३ स्थित पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले साधारणसभाको उद्घाटन गर्दै पुरुषहरुले मात्र नभई महिलाहरुले पनि सफल रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताइन् । उनले महिलाहरुलाई कमजोर नआँक्न आग्रहसमेत गरिन् ।

संस्थाकी अध्यक्ष यादवकुमारी तिम्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी हाल १ करोड ११ लाख ८३ हजार ८०० रुपैयाँ रहेकोमा आगामी वर्ष डेढ करोड पुर्याउने लक्ष्य रहेको बताइन् । त्यस्तै बचत १ करोड ४१ लाख १०हजार ७९ रुपैयाँ रहेकोमा त्यसलाई बढाएर दुई करोड पचास लाख रुपैयाँ पुर्याउने प्रस्ताव गरिन् । लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक दुर्गादेवी चुडालले संस्थाको कुल आम्दानी ७२ लाख ८६ हजार ३१४ र कुल खर्च ६२ लाख २२ हजार ३३३ रुपैयाँ रहेको बताइन् । उनले संस्थाले यस वर्ष १० लाख ६३ हजार ९८० रुपैयाँ मुनाफा कमाउन सफल भएको जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोड– ३ का वडा सचिव भीम अधिकारी , बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज टीकाराम कार्कीलगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत मन्तव्य देवकुमारी बास्कोटाले गरेकी थिइन् । कार्यक्रमको संचालन उपाध्यक्ष नेनकला ढकालले गरेकी थिइन् । कार्यक्रममा जेष्ठ नागरिक गौमाया फागो , असल बचतकर्ता सुमित्रा तिम्सिना र असल ऋणी पूर्णकुमारी फागोलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्