झापा, असोज २७ । बिर्तामोड वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिर्तामोड ८ लाई पराजित गर्दै बिर्तामोड ४ विजयी बनेको हो ।
बिर्तामोड ४ का लागि न्युटन लाम्गादेले २ गोल गरे । पहिलो हाफको ३१ औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका लाम्गादेले दोस्रो हाफको ३२ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

बिर्तामोड ४ का लागि मलिन लिम्बू र बिशाल बस्नेतले एक–एक गोल गरे । दोस्रो हाफको १० औं मिनेटमा मलिन लिम्बूले टिमका लागि दोस्रो र १६ औं मिनेटमा बिशाल बस्नेतले तेस्रो गोल गरेका थिए ।
बिर्तामोड ८ का लागि भने खेल सुरु भएको १ मिनेट ५० सेकेन्ड जाँदा सनम राईले पहिलो गोल गरेका थिए । खेलको सुरुमै गोल गरेको बिर्तामोड ८ ले पहिलो हाफको ३१ औं मिनेटसम्म अग्रता कायम राखेको थियो । ३१ औं मिनेटमा बिर्तामोड ४ का न्युटन लाम्गादेले गोल फर्काएपछि खेल बराबरीमा फर्किएको थियो ।

दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको बिर्तामोड ८ ले ३ गोल खाँदा १ गोल मात्रै फर्काउन सक्यो । उसका लागि दोस्रो हाफको १९ औं मिनेटमा बरदान मैनालीले थप एक गोल फर्काएका थिए ।

विजेता टोली बिर्तामोड ४ का लागि २ गोल गर्ने लाम्गादे आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।
कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत भोलि हुने चौथोे क्वाटरफाइनल खेलमा बिर्तामोड १० र बिर्तामोड ६ बीच प्रतिष्पर्धा हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्