शनिश्चरे, असोज २७ । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेलमैदानमा सुरु जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा हल्दिबारीको जलथल एफसीले विजयी सुरुवात गरेको छ ।

लक्ष्मीधाप स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा स्पर्धी चन्द्रगढीको ब्रदर्स युनाइटेडलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै जलथलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ७औँ मिनेटमै विशाल गुरुङले गोल गर्दै खाता खोलेका थिए । जलथलकै उज्ज्वल राईले खेलको २२औँ मिनेटमा गोल गरेर टिमको अग्रता दोब्बर बनाए । खेलको ४२औँ मिनेटमा राजेश राजवंशीले थप गोल गर्दै फराकिलो गोलअन्तर निकाले ।

उद्घाटन खेलको म्यान अफ दी म्याच जलथलका विशाल गुरुङ बने । उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे । आयोजक क्लबका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष सन्तकुमार राईले स्वागत गरेका थिए ।

भोलि आयोजक लक्ष्मीधाप स्पोर्टस् क्लबले शनिश्चरे एफसीसँग प्रतिस्पर्धा गर्नेछ । कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आर्थिक संयोजक टेकराज तिलिङले बताए । यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३–३ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्