झापा, असोज २७ । इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ ।

इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा शुक्रबार रोयटर्सका भिडियो पत्रकारको मृत्यु भएको हो । मिसाइल आक्रमणमा परी भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ । उनी इजरायल–लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन् ।

रोयटर्सका अनुसार अल्मा अल–शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन् । आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । लेबनानका प्रधानमन्त्री नजिब मिकाती र हिजबुल्लाह नेताहरूले घटनामा इजरायल जिम्मेवार रहेको बताएका छन् ।

गत शनिबारदेखि सुरु भएको हमास–इजरायल युद्धमा सर्वसाधारण मात्र होइन, रिपोर्टिङ गरिरहेका पत्रकारसमेत मारिएका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स(सीपीजे)का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ । मारिनेमा ९ प्यालेस्टाइनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् ।

इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् । त्यस्तै अर्का प्यालेस्टाइनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । त्यस्तै इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

गत शनिबारदेखि चर्किएको युद्धमा ३ हजार ५ सयभन्दा बढी मानिस मारिएका छन् । हमासको आक्रमणमा १ हजार ३ सयभन्दा बढी इजरायली मारिएका छन् भने इजरायली हवाई र बम आक्रमणमा २ हजार २ सयभन्दा प्यालेस्टाइनी मारिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्