बिर्तामोड , असोज २८ । आर्थिक मन्दी भएपनि दशैको अवसर पारेर आइतवार बिर्तामोडमा एकैदिन दुईवटा मार्केट संचालनमा आएको छ ।

बुधवारे हटियाबाट बिस्थापित व्यवसायीहरुले दुई ठाउँमा एकैदिन बजार संचालन गरेका हुन् । कन्काई हस्पिटलको दक्षिण र मनमोहन हस्पिटलको पूर्वपट्टी ४४ वटा सटर भएको बुधवारे बजारको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली , नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईलगायतले संयुक्त रुपमा उद्घाटन गरे ।

दुर्गा थपलियाको दुई कठ्ठा जग्गामा सो बजार निर्माण गरिएको हो । सटर लिनका लागि व्यवसायीहरुले एक–एक लाख रुपैयाँ धरौटी दिएका छन् । प्रतिसटर ५ हजार , ६ हजार र ७ हजार भाडादर कायम गरिएको जग्गाधनी थपलियाले बताए । सो बजारमा जुत्ताचप्पल , रेडिमेड , थान कपडा , खेलौना , होटल र कस्मेटिक पसल रहेका छन् ।

त्यस्तै बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा ‘हाम्रो बजार’ खुलेको छ । बुधवारे हटियाबाट विस्थापित भएका व्यवसायी हाम्रो बजारमा स्थापित भएका छन् ।घटस्थापनाको अवसर पारेर आइतवार बजारको उद्घाटन गरिएको छ । शान्ता शिवाकोटी, पवित्रा खड्का र सरिता खत्रीको स्वामित्वमा रहेको पौने तीन कठ्ठा जग्गामा बजारको संरचना निर्माण गरिएको हो ।
जग्गाधनी साझेदार तीन महिलासहित बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सामूहिक रुपमा बजार उद्घाटन गरेका छन् । मासिक दुई हजार भाडा तिर्ने सर्तमा हाम्रो बजारमा व्यवसायीले सटर पाएका हुन् ।

विस्थापित भएका व्यवसायीलाई थप पलायन हुनबाट रोक्न बजार निर्माण गरी व्यवसाय गर्ने वातावरण मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताए । हाम्रो बजारमा ४६ जना व्यवसायी बसेका छन् ।

प्रतिव्यवसायी एकलाख रुपैयाँ धरौटी लिएर बजार निर्माण गरिएको हो । उनीहरुलाई पाँच वर्षका लागि उक्त स्थान उपलब्ध गराइएको छ । बुधवारे हटियाका बिस्थापित व्यवसायीहरुले यसअघि अर्को बजार पनि निर्माण गरी संचालन गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्