बिर्तामोड,असोज २९ ।निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकेर बिर्तामोडका केही सहकारीहरुमा भागाभागको स्थिति छ । संचालकहरु डरले सहकारी आउनै छोडेका छन् ।तर, नहौसिकन आफ्नै गतिमा करिव तीन दशकदेखि संचालन भइरहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था निर्धक्क छ ।

आर्थिक मन्दीका कारण अरु सहकारीहरुले लाभांश वितरण गर्ने हिम्मत गर्न नसकिरहेका बेला लक्ष्मी बहुउद्देश्यीयले शेयर सदस्यहरुलाई १२.१७ प्रतिशत लाभांश वितरण गरेको छ । त्यही भएर सहकारीले नारा नै राखेको छ ‘सुरक्षाको प्रत्याभूति लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ।’ संस्थाको २७ औं वार्षिक साधारणसभाका वक्ताहरुले लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडभरिमा उत्कृष्ट मात्र नभएर नमूना भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालले संचालकहरुको गलत नियतका कारण बिर्तामोडका केही सहकारीहरु डुबेको उदाहरण दिँदै पटक–पटक अध्यक्ष बन्ने आशक्ति नराखेका लक्ष्मी बहुउद्देश्यीय सहकारीका संचालकहरुमा अरु पनि गलत नियत नदेखिएको बताए । उनले बिनाधितो ऋण लगानी नगरेको लक्ष्मी बहुउद्देश्यीय सहकारीको कोष र वासलातको अबस्था पनि राम्रो रहेको जानकारी दिए ।

संस्थाले आर्थिक वर्ष २०७९–८० मा १ करोड १२ लाख ५० हजार ८५१ रुपैयाँ मुनाफा कमाएको छ । त्यसलाई यस वर्ष बढाएर १ करोड ६२ लाख ९५ हजार रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै संस्थाको शेयर पुँजी ३ करोड २६ लाख ११ हजार १ सय रुपैयाँ रहेकोमा त्यसलाई यस वर्ष बढाएर ४ करोड पुर्याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कुल निक्षेप ३० करोड २८ लाख ३० हजार ९४३ रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ४३ करोड पुर्याउने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले बताए । उनले संस्थामा कार्यरत कर्मचारीहरुको तलब भत्ता समयानुकूल पुनरावलोकन गरी संस्थाले बहन गर्न सक्नेगरी समायोजन गरिने जानकारी दिए ।

संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका सदस्य केशव बस्नेतले लक्ष्मी बहुउद्देश्यीय सहकारी झापा जिल्लामा नमूनाको रुपमा रहेको बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाल , राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि धर्मेन्द्र राजवंशी, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले पनि कछुवाको गतिमा हिडेपनि लक्ष्मी बहुउद्देश्यीय सहकारी उत्कृष्ट ढंगले अगाडि बढिरहेको बताएका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु बेदनिधि भट्टराई , विनय अग्रवाल , शान्ता ओझा , मिलन शाक्य , झरना शाह, गोपाल आइच , चन्द्रकला पौडेल , इन्दिरा घिमिरे , ऋणीतर्फ मधुराम राजवंशी , शान्ता बुढाथोकी , पार्वतीरमण खतिवडा , मन्जु मेचे , पुनम सुनुवार ,उत्कृष्ट कर्मचारीहरु प्रेमकुमारी नेपाल र गीता राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष भगिरथ पोद्धारले स्वागत गरेको कार्यक्रमको संचालन लेखा समिति संयोजक रोशन दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्