झापा, असोज २९ । बिर्तामोड वडा नम्बर ५ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड– ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

फाइनल प्रवेश गरेसंगै बिर्तामोड–५ ले कम्तिमा नगद ५० हजार सुरक्षित गरेको छ । भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासंग बिर्तामोड–५ ले कात्तिक २ गते उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार पुरस्कार पाउने छन् ।

आजको खेलमा बिर्तामोड–५ लाई जित दिलाउन सजन वि.क. र रोशन बोहोराले एक–एक गोल गरे । टिमका लागि दोस्रो हाफको ७ मिनेटमा सजन वि.क.ले पहिलो गोल गरे । एक– शुन्य गोल अन्तरको अग्रता कायम गरेको बिर्तामोड–५ का लागि खेलको दोस्रो हाफको २६ औं मिनेटमा रोशन बोहोराले थप एक गोल गर्दै दुई– शुन्यको अग्रता बनाए ।

बिर्तामोड–४ ले भने पेनाल्टीको मद्धतमा एक गोल गरेको थियो । दोस्रो हाफको इन्जुरी टाईममा पाएको पेनाल्टी प्रहारको सदुपयोग गर्दै टिम कप्तान रमेश गुरुङले एक गोल फर्काएका थिए । निर्धारित ६० मिनेटको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।

आजको खेलमा बिर्तामोड–५ का रोशन बोहोरा ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा, आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरी र युवा व्यवसायी दिपेन चौधरीले पुरस्कार प्रदान गरे । आयोजकको तर्फबाट नगद १५ सय र चौधरीले १ हजार पुरस्कार दिएका थिए।
प्रतियोगिताको फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड–२ र बिर्तामोड–१० बीच खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिए ।

कात्तिक २ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्