विनोद सापकोटा
गौरीगञ्ज ।झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ कुन्जिबारीस्थित ठूली पाथीभरा मातासरी माता गुरु मन्दिरमा एउटा अनौठो दृश्य यतिबेला देख्न सकिन्छ । मन्दिरका मुख्य सेवक ‘माता गुरु’ मन्दिरको मुलगेटमा लमतन्न परेर सुतेका छन् ।

उनी आफै सुतेका होइनन् । उनलाई पाथीभरा माताले सुताएको स्थानीयको धार्मिक विश्वास रहेको छ ।
उत्तानो परेका सुतेका माता गुरुका छातीमा दुर्गा भवानीको प्रसादका रुपमा टिका लगाएर कानमा सिउरिने (जमरा) दुई दिनदेखि उम्रिरहेको छ ।

जिउँदो मान्छे ९ दिनसम्म, जलबिना निराहार उत्तानो परेर सुतेको सुत्यै छातीमा जमरा उमारिरहेको दृश्य सुनेर यतिवेला माता गुरु हेर्न आउने गरेका छन् । मन्दिर समितिका अनुसार झापा, मोरङ, सुनसरीलगायतका स्थानबाट सर्वसाधारण हेर्न आउन थालेका छन् ।

माता गुरुले घटस्थापनाको दुई दिन पहिलेदेखि नै अन्न, फल र जल त्यागेर निराहार ब्रत बसेका थिए । निराहार ब्रत बसेको ४ दिनसम्म पनि आफूलाई असजिलो नभएको माता गुरुले बताए । मल—मुत्र त्याग्न पनि परेको छैन । ५१ वर्षको उमेरमा पहिलो पटक यो प्रकृतिको ब्रत बसेको उनले बताए ।

माता गुरु उत्तानो परेर छातीमा जमरा उमारिरहेको यो दृश्य देख्नेले अर्काे पनि आश्चर्य ठानेका छन् ।
‘माता गुरुले घटस्थापनादेखि महानवमीसम्म निराहार ब्रत लिनुभएको छ । उहाँले अन्न, फल र जल ग्रहण गर्नुभएको छैन,’ मातागुरुका सेवक तारा गिरीले भनिन् ‘यस्तो कठोर ब्रत त पत्रपत्रिकामा पढेको थिएँ । आँखाले अहिलेसम्म देखेको थिइनँ ।’
यस्तो कठोर ब्रत बस्ने माता गुरुको सेवा गर्न पाउनु आफूलाई जीवनमै धन्य ठानेको सेविका तारा गिरीले बताइन् । माता गुरुका ६ जना सेवक छन् । उनीहरुले पनि अन्न खाएका छैनन् ।

मन्दिरको बाहिर भजनस्थलमा उत्तानो परेर सुतेका मातागुरुका छातीमा एउटा काटुन राखिएको छ । त्यसभित्र टपरीभरी माटो र बालुवा मिसाएर राखिएको छ । मकै र जौंका दाना टपरीको माटो र बालुवामाथि राखेर कपडाले छोपिएको छ । माता गुरुका अर्की सेविका पूजाले भनिन्,‘ महानवमीसम्म दुर्गाको विधिपूर्वक पूजा गरिन्छ । छातीमा राखिएको मकै र जौं उम्रिएपछि जमरा बन्छ र देवीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।’

बडादशैमा साधारणतया घरमा घटस्थापना गर्दा अँध्यारो कोठाको कुनामा पटरीमा मकै र जौ को दाना राखेर जमरा उमार्ने सदियौदेखिको चलन छ । उम्रिएको जमरा दशैको टिकाका दिन मान्यजनबाट टिका थापेर आशिर्वादसहित कानमा सिउरिने चलन छ ।माता गुरु उमेरले ५१ वर्षका भए । ०७४ सालमा ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गर्न जाँदा शरीरमा माताको शक्ति प्राप्त भएको उनले बताए । उनले पाथीभरा माताजीले आफ्नो सेवा गर्नु भनेर आशिर्वाद दिएपछि ठूली पाथीभरा मातासरी मातागुरु मन्दिर स्थापना गरेर नियमित भक्तिभावका साथ पूजा अर्चना गरिरहेको बताए ।

मन्दिरमा दिर्घरोगी, विरामी, निसन्तान, ताप्लेजुङ मन्दिर जान नसक्ने असक्त भक्तजन पनि आउने गरेको स्थानीयले बताए । उनीहरु भन्छन्,‘ मातागुरु भविष्यबाणी पनि गर्ने हुँदा भक्तजनको घुइँचो लाग्ने गरेको हो । ‘अनुहार र शरीर हेरेर माता गुरुले भविष्य बाणी गर्नुहुन्छ,’ स्थानीय सपना सापकोटाले भनिन् ।
गौरीगञ्ज गाँउपालिका वडा नम्बर २ को हुलाकी राजमार्गसंग जोडिएको सो ठाउँमा पाथीभरा माता, हनुमानजी, शनि, गुप्तेश्वर महादेव, दुर्गामाता, गणेशजी लगायतका मन्दिर छन् ।
हिन्दू धर्मको रक्षा र राष्ट्र शान्तिका लागि माता गुरु निराहार ब्रत बसेको मन्दिर संचालन समितिले जनाएको छ । यसबाट दैवी शक्ति प्राप्त हुने समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

छातीमा उमारेका जमरा नवमीका दिन दुर्गा देवीको मन्दिरमा चढाउने, लाख बत्ती बालेर १० कन्यालाई दान गरेपछि निराहार व्रत तोडिने मातागुरुले बताए । ‘मेरो शरीरमा पाथीभरा माताजी आएर छातीमा जमरा उमार्नु, नवमीका दिन दश कन्यालाई टिका लगाई दान गर्नु र उमारेका जमरा कानमा सिउरिदिनु र १ लाख दिप प्रज्वलन गरेपछि मात्र ब्रत भङ्ग गर्नु भन्नुभएको छ । सोही अनुसार ब्रत बसेको छु,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्