झापा , असोज ३० । जिल्ला प्रहरी कार्यालय इलामले ६८ औं प्रहरी दिवस एक समारोहका बीच सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख, प्रहरी उपरीक्षक वासुदेव खतिवडाको अध्यक्षता तथा इलाम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी वासुदेवप्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुखहरु, पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारजनहरु, संचारकर्मी,सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत,प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

२०१२ साल असोज ३१ गते प्रहरी ऐन २०१२ ले प्रहरी संगठनलाई बैधानिकता प्रदान गरेको यो दिन बिशेष दिनको रुपमा रहेको छ । प्रहरी संगठनले बैधानिकता प्राप्त गरेको ६८ बर्ष लामो एवं गरिमामय ईतिहासमा यो विशेष दिन विविध कार्यक्रमका साथ नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु,नेपाल प्रहरी प्रदेश कार्यालयहरु र जिल्ला प्रहरी कार्यालयहरुमा स्थापित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई वीर अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले पनि कर्तब्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सम्पूर्ण अमर प्रहरी कर्मचारीहरुको सम्मानमा शोक सलामी दिई वीरगति प्राप्त गर्ने अमर प्रहरीको स्मारकमा रेथ अर्पण तथा माल्यार्पण गरेको थियो ।

कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ६८ औ प्रहरी दिवसको उपलक्ष्यमा दिएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख, प्रहरी उपरीक्षक वासुदेव खतिवडाले वाचन गरेका थिए भने प्रहरी काम कार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफूलाई सुम्पिएको पदीय जिम्मेवारी प्रशंसनीय तवरबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक बिष्णुबहादुर खड्का,प्रहरी बरिष्ठ नायव निरीक्षक भोजकुमार रंजितकार,प्रहरी नायव निरीक्षक तारा कटुवाल, प्रहरी नायव निरीक्षक चन्द्र लिम्बु,प्रहरी सहायक निरीक्षक मन्जु चौधरी, प्रहरी सहायक निरीक्षक जोशन तामाङ ,प्रहरी वरिष्ठ हवल्दार बिजय राई,प्रहरी हवल्दार पुष्प भट्टराई,प्रहरी हवल्दार रिद्धि खनाल, प्रहरी हवल्दार,गोपाल राई,प्रहरी सहायक हवल्दार सन्जय माबोहाङ लिम्बु,प्रहरी सहायक हवल्दार राजेश श्रेष्ठ र प्रहरी जवान यमुना पोखरेल पुरस्कृत भएका छन् ।


त्यस्तै प्रहरी दिवसकै अवसरमा समुदायमा नेपाल प्रहरीको भूमिका विषयक निबन्ध प्रतियोगितामा इलाम जिल्लाको बिभिन्न विद्यालयहरुबाट १२ जना विद्यार्थीहरु सहभागी भएकोमा नन्द माध्यमिक विद्यालयका विद्यार्थी मनिषा पाख्रिन पहिलो,ज्योति सदन बोर्डिङ स्कुलका विद्यार्थी कृपा चाम्लिङ राई द्वितीय र आदर्श माध्यमिक विद्यालयका विद्यार्थी प्रज्ञा न्यौपाने तृतीय भएकोमा ३ नै जनालाई पुरस्कृत गरिएको थियो । अमर प्रहरी कर्मचारीहरुको परिवारलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख, प्रहरी उपरीक्षक खतिवडाले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिलगायत बिभिन्न महानुभावहरुले ६८ औं प्रहरी दिवसको अवसरमा शुभकामना मन्तब्य राखेका थिए । धन्यवाद ज्ञापनसहित जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक खतिवडाले कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्