झापा, असोज ३० । वीरगति प्राप्त गर्ने अमर प्रहरी कर्मचारीहरुप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारलाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय झापाले ६८ औ प्रहरी दिवस मनाएको छ ।

कर्तब्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सम्पूर्ण अमर प्रहरी कर्मचारीहरुको सम्मानमा शोक सलामी दिई अमर प्रहरीको स्मारकमा माल्यार्पण गरिएको थियो । त्यस्तै अमर प्रहरी परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा ८५ वर्षभन्दा माथिका पूर्व प्रहरी हवल्दार ८९ वर्षीय बिर्खबहादुर गुरुङलाई प्रहरी उपरीक्षक रेग्मीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा अमर प्रहरीका परिवारका सदस्यलाई जिल्ला प्रहरी श्रीमती संघकी अध्यक्ष विन्दु विमली रेग्मीले दोसल्ला ओढाई सम्मान गरेकी थिइन् । त्यस्तै प्रहरीलाई सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यस्तै कोहवरा चौकी निर्माणका लागि जग्गा प्रदान गर्ने दाता रविन्द्र ताजपुरियालाई सम्मान गरिएको थियो भने ६८ औं प्रहरी दिवसका अवसरमा आयोजित विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयकी छात्रा प्रगति दाहाल प्रथम, लालिमा आवासीय विद्यालयकी छात्रा सलुजा पोखरेल द्वितीय र महेन्द्र माध्यमिक विद्यालयकी छात्रा तृष्णा भट्टराई तृतीय भएका थिए । त्यस्तै सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीका अध्यक्ष शिला खड्कालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दिएको शुभकामना सन्देश इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीले वाचन गरेका थिए भने स्वागत मन्तव्य जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु,बिभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुखहरु, पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारजनहरु, संचारकर्मी,सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत,प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा बृक्षरोपण पनि गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्