एजेन्सी । गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा ५ सयबढी प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ ।

अस्पतालमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलले गाजापट्टीको अल– अहली अरब अस्पतालमा हवाई आक्रमण गरेको दाबी गरेको छ । तर, इजरायलले भने सो आरोपको खण्डन गरेको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा यस्तो घटना भएको इजरायलले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबैभन्दा घातक आक्रमण हुने जनाएको छ । इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजाका धेरैजसोले अस्पताललाई आश्रयस्थल बनाएका छन् । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्र्सना गरेको छ ।

यसैबीच, युद्ध जारी रहेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले आज इजरायल भ्रमण गर्दै छन् । बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ । इजरायल र हमासबीचको युद्धका कारण अहिलेसम्म दुवैतर्फ गरी ४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्