झापा , कात्तिक १ । नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ ।

१ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभरमा पूरा गरेको थियो । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा अविजित ९३ रनको साझेदारी गरी नेपाललाई जित दिलाए । कप्तान रोहित पौडेल ५१ र र दीपेन्द्रसिंह ऐरी ३४ रन बनाई अविजित रहे । रोहितले पछिल्ला चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । रोहितले ४० बल खेली ५ चौका तथा दीपेन्द्रले २३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

कुशल भुर्तेल १४ बलमा १४ रन बनाई आउट भएका थिए । दुर्भाग्यपूर्ण रनआउट भएका कुशल मल्लले ९ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए । ओपनर आसिफ शेख २७ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए । यूएईका निलान्श केसवानी र अली नासिरले १–१ विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । मुलपानी क्रिकेट मैदानमा खेलिएको पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा यूएईको सुरुवात राम्रो थिएन ।
सोमपाल कामीले खेलको पहिलो ओभरमै ‘डेब्यु’ गरिहेका खालिद शाहलाई शुन्यमा आउट गराए । अलिशन सराफु पनि ६ रन बनाई करण केसीको बलमा आउट भएपछि यूएईको संकट चुलिएको थियो ।

कप्तान मोहम्मद वासिमलाई गुल्शन झाले आउट गरे । वासिमले १८ बल खेली समान १ चौका र छक्का प्रहार गर्दै १७ रन बनाए । गुल्शनले आसिफ खानलाई आउट गरी नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । आसिफले १२ बल खेली २ चौका प्रहार गर्दै १५ रन बनाए ।

अलि नासिर र बसिल हमिदले पाँचौं विकेटमा ५६ रनको साझेदारी गरे । नासिरले ३० बल खेली ३ चौका र १ छक्कासहित ३२ रन बनाए । उनी करणको दोस्रो शिकार बनाए । हमिदले ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा कुल ३८ बल खेली १ चौका र ४ छक्का प्रहार गरि ५१ रन बनाए । नेपालबाट करणले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रनमात्र खर्चे । गुल्शनले ३ ओभरमा ११ रन खर्चेर २ र सोमपाल कामीले १ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिनेक्रममा ४ ओभरमा ३८ रन खर्चे ।

नेपालले श्याम (मौसम) ढकाललाई ‘डेब्यु’ गराएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल्ने नेपालका ४४ औ खेलाडी बनेका उनले २ ओभरमा १४ रन खर्चेका थिए । तीनदेशीय प्रतियोगिताको अर्को टोली हङकङ रहेको छ । नेपालले बिहीबार हङकङसँग खेल्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्