झापा, कात्तिक १ । पाँचथरमा आज दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
झापाको बिर्तामोडबाट पाँचथरको ओयाम हिँडेको को १ ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका–७ टाहारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा याङवरक–३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथ्वीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक–७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीया बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल लगिएको थियो । ।त्यसमध्ये पाँचजना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो । घरमा मान्छे नभएकाले थप मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । न्यौपानेको पनि टाउकोमा चोट लागेको छ ।