झापा, कात्तिक २ । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।योसँगै नेपाल समूह एको विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नुपर्नेछ ।साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कंडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए ।यसअघि मलेसियाको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो ।नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेले । उनी १४२ रन बनाएर आउट भए । अर्का ब्याटर आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रे १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्