एजेन्सी । विराट कोहलीको उत्कृष्ट शतकको मद्दतले भारतले विश्वकप २०२३ मा बिहीबार बंगलादेशमाथि ७ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ । भारतको यो लगातार चौथो जित हो र उसको ८ अंक भएको छ ।

न्युजिल्यान्ड यस विश्वकपमा सुरुवाती ४ खेल जित्ने अर्को टिम रहेको छ । जितका लागि २ सय ५७ रनको लक्ष्य पाएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाएर २ सय ६१ रन बनायो । कोहलीले नटआउट रहेर ९७ बलमा १ सय ३ रन बनाए । उनले छक्कासँगै विजयी रन पूरा गरे । विराटको ब्याटबाट ६ चौका र ४ चौका निस्केको थियो । नटआउट अर्को ब्याटर केएल राहुलले ३४ रनको योगदान दिए ।

घरेलु टिमका लागि कप्तान रोहित शर्माले ४० बलमा ४८ रन बनाए । अर्का ओपनर शुभमन गिलले ५५ बलमा ५३ रन बनाउँदै आफ्नो अर्धशतक पूरा गरे । त्यस अगाडि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटमा २ सय ५६ रन बनाएको थियो । उसका लागि पनि दुवै ओपनर लयमा रहे । तानजिद हसनले ५१ र लिप्टन दासले ६६ रन बनाए । त्यसपछि नियमित विकेट गुमाएको बंगलादेशका लागि तल्लो मध्यक्रमका ब्याटर महमुदुल्लाहले ३६ बलमा ४६ रन थपे । बंगलादेशको भने यो चौथो खेलमा तेस्रो हार हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्