एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्री विधातर्फ भारतको नेसनल फिल्म अवार्ड पाएकी छन्।

वेश्यालय सञ्चालकको कथामा आधारित गंगुबाई काठियावाडी चलचित्रको मुख्य भूमिकाका लागि आलियालाई पुरस्कृत गरिएको हो ।
सिनेमामा उनको अभिनयले राम्रो चर्चा पाएको थियो । भारत सरकारद्वारा दिइने यो पुरस्कार भारतको चलचित्र उद्योगका लागि प्रतिष्ठित मानिन्छ । भारतको नयाँदिल्लीमा मंगलबार आयोजित नेसनल फिल्म अवार्डको ६९ औं समारोहमा विभिन्न ४६ विधामा अवार्ड वितरण गरिएको थियो । भारतकी राष्ट्रपति द्रोपदी मुर्मूले पुरस्कार दिएकी थिइन् । समारोहमा आलिया र मिमी चलचित्रकी अभिनेत्री कृति सनोनलाई संयुक्त रूपमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइएको थियो ।

त्यस्तै दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पुष्पाः द राइजका लागि सर्वोत्कृष्ट अभिनेताबाट सम्मानित भए । गोदावरी चलचित्रका निर्देशक निखिल महाजनले सर्वोत्कृष्ट निर्देशक, ‘रकेट्री’ लाई बेस्ट फिचर फिल्म, आवसाव्युहम्लाई वातावरण संरक्षणसम्बन्धी सर्वोत्कृष्ट फिल्म विधाको पुरस्कार दिइएको थियो । त्यस्तै साठीदेखि सत्तरी दशककी सफल बलिउड अभिनेत्री वहिदा रहमानलाई दादासाहेब फाल्के लाइफ टाइम अवार्डबाट सम्मानित गरियो । वहिदाका प्यासा, कागजके फूल, गाइड, नीलकमल, खामोसी, रेश्मा और शेरालगायतका सिनेमामा निकै चर्चित मानिन्छन् । उनले सन् १९७१ मा रेश्मा और शेराका लागि सर्वोत्कृष्ट अभिनेत्री विधामा नेसनल फिल्म अवार्ड पाएकी थिइन् ।

पुरस्कार समारोहमा आलिया अवार्ड थाप्न पति रणवीर कपुरसँगै समारोहमा पुगेकी थिइन् । ११ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री आलियाले नेसनल फिल्म अवार्ड, फिल्मफेयर अवार्ड, जी सिने अवार्ड, इफा अवार्डलगायत हालसम्म ५० बढी अवार्ड प्राप्त गरेकी छन् । सञ्जय लीला भन्सालीले निर्देशन गरेको गंगुबाई काठियावाडी चलचित्रमा आलियासहित अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतको अभिनय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्