झापा, कात्तिक ३ । झापाको ‘ए’ डिभिजन क्लब न्यूस्टार क्लब बिर्तामोड ७ ले भोलि एकैदिन दुईवटा प्रतियोगितामा उपाधि भिडन्त गर्ने भएको छ ।

एउटै समयमा झापाको दुई ठाउँमा न्यूस्टार क्लबले फाइनल खेल्न लागेको हो । कनकाई–५ तुलसीबारीमा संचालन भइरहेको प्रदेशस्तरीय मिनी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूस्टारले आयोजक रेलिमाई स्पोर्टिङ क्लबसंग प्रतिष्पर्धा गर्ने भएको छ भने अर्जुनधारा ११ लक्ष्मीधापमा जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा न्यूस्टारले शनिश्चरे एफसीलाई टक्कर दिने भएको हो । कन्काईको प्रतियोगिता जितेमा न्यूस्टारले नगद १ लाख ११ हजार रुपैँया प्राप्त गर्ने छ । उपविजेताको पुरस्कार राशि ७५ हजार रुपैयाँ रहेको छ । उता लक्ष्मीधाप प्रतियोगिताको फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ । लक्ष्मीधापमा बिर्तामोड युनाइटेडलाई १ –० र जलथल एफसीलाई ४–१ गोल अन्तरले हराउँदै न्यूस्टार फाईनलमा पुगेको हो भने कनकाईको प्रदेशस्तरीय मिनी गोल्डकपको फाइनलमा पुग्नका लागि न्यूस्टारले एपीएफ पूर्वाञ्चल पकलीलाई ३–० र काजीमान फुटबल क्लब चन्द्रगढीलाई १–० ले हराएको थियो ।

आफूहरु दुवै प्रतियोगिताको उपाधि जित्नेगरी मैदानमा उत्रिने न्यूस्टार क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूले बताए ।‘एकैदिन एउटै समयमा दुई ठाउँमा फाइनल खेल्नुपर्ने चुनौती छ ’उनले भने,‘तर,हामी पूर्ण तयारीका साथ दुईवटै उपाधि जित्ने उच्च मनोबलका साथ मैदानमा उत्रिन्छौ ।’

सानो राशि भएका धेरै प्रतियोगिताको उपाधि जितिसकेको उदीयमान क्लब न्यूस्टारले गत बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यूस्टार अन्तर्राष्ट्रिय गोल्डकप संचालन गरेको थियो । सो प्रतियोगिताको फाइनल जितेर क्लबले उपाधि आफै राखेको थियो । न्यूस्टार क्लबको आफ्नै खेलमैदान रहेकाले कडा मेहनतका साथ खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताउँदै अध्यक्ष लिम्बूले राम्रो व्यवस्थापन भएको टीम वर्क र वडा कार्यालयबाट भइरहेको साथ सहयोगले खेलाडीहरुको खेल स्तर बृद्धि भएको जानकारी दिए । क्लबले आगामी मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्