झापा, कात्तिक ४ । नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।

शनिबार मलेसियाको बायोमास ओभलमा भएको यू– १९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस नियमअनुसार १ सय ४४ रनले पराजित गर्दै नेपालले यू– १९ एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मलेसियाको बायोमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएको थियो । जापानले जितका लागि १ सय ८३ रनको लक्ष्य पाएको थियो । लक्ष्य पछ्याउने क्रममा जापान ११.३ ओभरमा ४३ रनमात्रै बनाएर अलआउट भएको थियो ।
जापानका लागि सानतारो रिातसुकाले १५ र केइफर यामामोतोले १३ रन बनाए । नेपालका लागि हेमन्त धमी र दिपेश कँडेलले समान तीन विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालले २५ ओभर ब्याटिङ गरेको अवस्थामा खेल वर्षाले प्रभावित भएको थियो ।
नेपालका लागि दिपक बोहराले ७९ बलमा १० चौका र दुई छक्कासहित ७९ रन बनाए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्