झापा, कात्तिक ५ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका ५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।

भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए ।
पटक–पटक चार म्याग्निच्युड भन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको ज्वालामुखी गाउँपालिका ५ खरीलाई केन्द्रबिन्दु बनाएर ४ पटक भूकम्प गएको थियो । आज बिहान ७ बजेर ३९ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको झट्का धादिङ, गोरखा, रसुवा, काठमाडौं उपत्यकालगायत आसपासका क्षत्रेमा महसुस गरिएको थियो

यसपछि आज बिहानै ८ बजेर ८, ८ बजेर २८ र ८ बजेर ५९ मिनेटमा खरी र सल्यानटारलाई केन्द्रबिन्दु बनाएर क्रमशः ४.२, ४.३ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प आएपछि खरी, मैदी, सल्यानटारका मानिसहरूमा भागदौड मच्चिएको स्थानीयले बताएका छन् । मैदीका स्थानीय सिताराम अधिकारीका अनुसार खरीको कुमालटारीमा जमिन फाटेको छ । यस्तै खरीका केही पुराना घरहरू पनि चर्केको उनले बताए । उनले भने, ‘बिहान पहिला ठूलै झट्का आयो त्यसपछि पनि पटक पटक झट्का महसुस गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्