झापा, कात्तिक ५ । एकैदिन दुईवटा प्रतियोगिताको विजेता र उपविजेता बन्न सफल झापाको ‘ए’ डिभिजन क्लब न्यूस्टार क्लब बिर्तामोड ७ ले आफ्ना खेलाडीहरुलाई बधाई दिँदै सम्मान गरेको छ ।

विजेता बनेको भोलिपल्ट आज बिर्तामोड ७ मा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा न्यूस्टार क्लबले आफ्ना खेलाडीहरुलाई सम्मान गरेको हो । न्यूस्टारले कनकाई–५ तुलसीबारीमा संचालन भएको प्रदेशस्तरीय मिनी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा हिजो आयोजक रेलिमाई स्पोर्टिङ क्लबलाई पराजित गरी नगद १ लाख ११ सय रुपैयाँ राशिको पुरस्कारसहित उपाधि जितेको थियो ।

त्यस्तै हिजो नै अर्जुनधारा ११ लक्ष्मीधापमा भएको प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा न्यूस्टार उपविजेता बनेको थियो । उसले नगद ५१ हजारसहित ट्रफी पाएको थियो ।

न्यूस्टारका कप्तान सनम राई , खेलाडीहरु बबिन बोहोरा ,रोमन भुजेल, सिद्धार्थ अधिकारी , विजय राई , सनम लिम्बू , सोनाहाङ लिम्बू , करण लिम्बू , श्रीकृष्ण धिमाल , मनिष लिम्बू , अभिशेक राई , निरज लिम्बू र कोच अंगु सुब्बालाई नगदसहित सम्मान गरिएको थियो । क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बू , बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिकी सचिव दिलमाया मादेन ,बिर्तामोड ७ का वडा खेलकुद समितिका अध्यक्ष नरेश संग्रौला , बिर्तामोड ८ का वडा खेलकुद समितिका अध्यक्ष विपिन कार्की, श्रीजंघा टोल विकास समितिका अध्यक्ष मनोज लिम्बूलगायतले सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खरेलले न्यूस्टार क्लबलाई बिर्तामोडकै मात्र नभएर देशकै उत्कृष्ट बनाउने उद्घोष गरे । उनले न्यूस्टार क्लब पुरानो लयमा फर्किएकोमा खुशी व्यक्त गरे । त्यस्तै क्लबका अध्यक्ष लिम्बूले न्यूस्टार क्लबमा भएको सहकार्यले यो सफलता प्राप्त गरेको भन्दै वडा कार्यालय , खेलकुद विकास समितिलगायत सबैलाई धन्यवाद दिए । क्लबका अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डम्बर थापा र संचालन सचिव सरोज न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्