एजेन्सी । विश्वकप क्रिकेटको सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ ।

भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो ।
२८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेटको क्षतिमा ४९ औँ ओभरमा जित हात पारेको हो ।

अफगानिस्तानलाई जित दिलाउने क्रममा इब्राहिम जादरानले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, रहमनुल्लाह गुरबाजले ६५ रन जोडेका थिए । रहमत शाहले नटआउट ७७ र हसमतुल्लाह शाहिदीले नटआउट ४८ रन जोड्दै अफगानिस्तानलाई विजयी बनाए । बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले समान १–१ विकेट मात्रै हात पारेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै २८२ रन जोडेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै, अब्दुल्लाह सफिकले ५८ रन जोड्दा सादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन जोडेका थिए ।

बलिङतर्फ अफगानिस्तानका नूर हमादले ३ विकेट लिएका थिए भने नविन उल हकले २ विकेट लिए । यो जितसँगै अफगानिस्तान विश्वकप प्रतियोगितामा ४ अंकका साथ छैठौं नम्बरमा उक्लिएको छ । उसले यसअघि इंगल्यान्डलाई पराजित गरेको थियो ।

पाकिस्तानको भने भारतमा भइरहेको विश्वकप प्रतियोगितामा लगातार तेस्रो पराजय हो । उसले यसअघि अष्ट्रेलिया र भारतसँग पराजय बेहोरेको थियो । पाकिस्तान विश्वकप प्रतियोगिताको अंकतालिकामा ४ अंकका साथ पाँचौं नम्बरमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्