झापा, कात्तिक ७ । नेपालले एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको छ । रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई २० रनले पराजित गर्दै मंगलबार उपाधि जितेको हो ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो । नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो र नेपाल यस उपाधिका लागि पूर्णतः हकदार रह्यो ।
फाइनलमा वर्षा रोकिएपछि यूएईले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सुरुमा दबाबमा राखेको थियो । तर नेपालले बलिङ र फिल्डिङ दुवैमा सटिक प्रदर्शन गरेको थियो ।

नेपालका आकाश त्रिपाठीले चार विकेट लिए भने सुभाष भण्डारीको नाममा तीन विकेट रह्यो । यूएईका लागि ध्रुव परासरले सर्वाधिक ५६ बनाए । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । आयान अफजल खानले ३० रनको योगदान दिए । यस्तै ओपनर आर्यन्स शर्माले ३२ रन बनाए । वर्षाले खेल रोकिँदा यूएईले दुई विकेट गुमाएर ५० रन बनाएको थियो ।त्यस अगाडि नेपालका कप्तान देव खनालको शतकको मद्धतले नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २ सय ८० रनको स्कोर खडा गरेको थियो । नेपालका लागि देवले कीर्तिमान शतक बनाए । उनले ९२ बलमा सय रन बनाए । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो भने यू– १९ मा नेपालका लागि तेस्रो शतक हो ।

देव हरित सेट्टीको बलमा समातिए । यसक्रममा उनी यू–१९ मा नेपालका लागि तीन शतक बनाउने पहिलो ब्याटर पनि बने । खराब सुरुवात गरेको नेपालले १४ रन बनाउँदासम्म दुई विकेट गुमाएको थियो । दीपक बोहराले पाँच रन बनाए भने आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् ।

त्यसयता देवले ओपनर अर्जुन कुमालसँग १ सय २५ रनको ठोस सोझदारी गरे । अर्जुनले ७८ बलमा ५५ रन बनाए र त्यसमा चार चौका सामेल थियो । उत्तर रानामगरले अन्त्यतिर उपयोगी ५७ रन बनाए । उनले ६७ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले २८ बलमा २७ रन थपे । यूएईका बलरमध्ये हरित सर्वाधिक सफल रहे र उनले सात ओभर ३६ रन खर्चेर पाँच विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्