झापा, कात्तिक ९ । सोलुखुम्बुको दुई स्थानमा विदेशी नागरिक र भरिया मृत फेला परेका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा एक विदेशी नागरिक मृत फेला परेका हुन्। सगरमाथा क्षेत्र भ्रमणमा आएका चेक रिपब्लिकका ४६ वर्षीय जनरोसको शव चोलापिक हिमाली क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार चोलापिक हिमाल चढेर फर्किएका जनरोस बुधबार दिउँसो अन्दाजी १ बजे हिमालभन्दा करिब ५०० मिटर तल मृत भेटिएका हुन्।

मृतकको शव बिहीबार हेलिकप्टरमार्फत् उद्धार गरेर लुक्ला ल्याइएको र काठमाडौं पठाउने प्रक्रिया अघि बढाएको बताइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

त्यस्तै सोलुखुम्बुको मेरापिक क्षेत्रमा पर्यटक भरिया सुतेकै ठाउँमा मृत भेटिएका छन्।
ज्यान गुमाउनेमा जिल्लाको सोताङ गाउँपालिका–१ बरबोटेका २९ वर्षीय शम्भु विक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक मिश्रका अनुसार महाकुलुङ गाउँपालिका–१ खारेस्थित मेरापिक क्षेत्रमा पर्यटक भरियाको रूपमा ट्रेकिङ गएका विक बुधबार महाकुलुङ १ को पुच्छर होटलमा बास बसेका थिए। विकलाई सोही होटलमा सुतेकै स्थानमा मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्