झापा, कात्तिक १३ । भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिले अमेरिकासहितका दातृ मुलुक र राष्ट्रसंघीय शरणार्थी आयोगको विशेष पहलमा १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी पुनर्बसोबासमा गएपनि शरणार्थी समस्या अझै सुल्झन नसकेको जनाएको छ ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका अवसरमा सोमबार दमक बेलडाँगीस्थित शिविरमा आयोजित शरणार्थी भेलामा उपस्थित समुदायले झापा र मोरङका शिविरमा रहेका ६ हजारभन्दा शरणार्थीको घरफिर्ती तथा पुनर्वासमा पुगेका परिवारसँगको पुनर्मिलन अधिकारका बारेमा स्मरण गराएका छन् ।

समितिका सचिव सञ्चहाङ सुब्बाका अनुसार, गाँस,बास,कपासको न्यूनतम हक अधिकारबाट वञ्चित रहेका शरणार्थी समुदायले स्वेच्छिक तवरमा राष्ट्रसंघीय महासचिव गुटेरेसलाई यो मानवीय समस्याका बारेमा अवगत गराउन चाहेका हुन् । शिविरहरूमा ६ हजारभन्दा शरणार्थीलाई अलपत्र छाडेर शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रमसहितका राष्ट्रसंघीय निकाय र अरु दातृ संस्थाले सहयोग गर्न छाडिसकेको यथार्थमाझ उब्जिएको मानवीय समस्यालाई महासचिव गुटेरेससमक्ष देखाउन चाहेको सचिव सुब्बाले बताए ।

सोमबार आयोजित र्याली तथा भेलामा शरणार्थी मामलालाई पूर्णतया राजनीतिक समस्या भन्दै यसमा भुटान, भारतसहितको बहुपक्षीय वार्ताको उपायबाट समाधान पहिल्याइनुपर्ने जिकिर गरिएको छ । ‘शरणार्थी पुनर्बसोबासपछि अहिले पारिवारिक फुट, खाद्यान्नलगायतको सुविधा कटौती, शरणार्थी पञ्जिकरण समस्या, शरणार्थी परिचयपत्र वितरण र नवीकरणमा रोकलगायतका थप कठिनाइ उब्जिएका छन्,’सचिव सुब्बाले भने ।

स्वेच्छिक घरफिर्ती नभएको र तेस्रो देशमा पुनर्वासमा जानसमेत अयोग्य बनाइएका शरणार्थीलाई अन्तर्राष्ट्रिय कानुनबमोजिम शरणागत देशमै नागरिक अधिकारसहितको बसोबास व्यवस्थामा पहल जरुरी देखिन्छ,’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्