झापा,कात्तिक १४ । कमल –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पनि तानिने भएका छन् ।

मृतक कार्की र प्रहरीले दर्ता गर्न नमानेको उनको जाहेरी

प्रहरीले कार्कीको मृत्यु प्रकरणका सम्बन्धमा उनकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई नियन्त्रणमा लिएपनि वडाध्यक्ष भट्टराई यतिबेलासम्म कानूनी कार्वाहीभन्दा बाहिर छन् । तर, उनीमाथि पनि अनुसन्धान थालिने प्रहरीले जनाएको छ । मृतकका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा दिएको जाहेरीमा श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेलको नाम किटान गरिएपनि जाहेरीको पेटबोलीमा वडाध्यक्ष भट्टराईको नाम पनि उल्लेख छ ।

दुईजनामाथि किटानी जाहेरी दिएपनि जाहेरीको पेटबोलीमा वडाध्यक्ष भट्टराईको नाम उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । ‘घटनामा संलग्न सबैमाथि अनुसन्धान हुन्छ ’उनले भने । प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा ससुरा पुण्यप्रसाद र श्रीमती चाहनाविरुद्ध परेको किटानी जाहेरीका आधारमा मुद्धा दर्ता गरिसकेको छ । गत ६ कात्तिक गते अर्थात महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए ।

सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए । आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दशैंको टिकाको दिन अर्थात कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए ।
तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारवाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिंडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । अहिले वडाध्यक्ष भट्टराई आफूले नियमित चलाउने गरेको मोवाइल स्वीच अफ गरेर सम्पर्क बाहिर छन् । प्रहरीले सो घटनामा मृतककी श्रीमती चाहना र ससुरा बुबा पुण्यप्रसादलाई नियन्त्रणमा लिएर हिजो जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको जनाएको छ ।

जाहेरीकर्ता कार्कीका मामा बुढाथोकीले प्रहरीमा जाहेरी दिन जाँदा जाहेरी लिन अस्वीकार गरेको भन्दै हिजो आफन्तहरुले इलाका प्रहरी कार्यालय दमक अगाडी प्रदर्शन गरेका थिए ।

जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत कार्की तीन वर्षदेखि ससुरालीछेउमा घर बनाएर बस्दै आएका थिए । उनकी एक नाबालिका छोरी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्