झापा , कात्तिक १४ । सत्तागठबन्धन र एमाले दुबैबाट दोहोरो दबाब आएपछि कोशीका मुख्यमन्त्री केदार कार्की अप्ठेरोमा परेका छन् ।

सत्ता गठबन्धनले एमालेलाई सरकारबाट हटाउन दबाब दिइरहेको छ । उता एमालेले तत्काल सरकार विस्तारका लागि चर्को दबाब दिइरहेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका कार्कीलाई प्रदेश सभामा राप्रपा बाहेकका दलले विश्वासको मत दिएका थिए । तर केन्द्रीय सत्ता गठबन्धनले एमालेलाई सरकार बाहिर राख्न दबाब बढाएपछि कार्की अप्ठेरोमा परेका हुन् ।

एमालेको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारी र एमालेको नै विनाविभागीय मन्त्री रामबहादुर मगरको टोली र मुख्यमन्त्री कार्कीबीच सरकार विस्तार, अध्यादेशबाट आएको बजेट पारित र संसद्लाई गतिशीलता प्रदान गर्ने विषयमा सोमबार छलफल भएको थियो । छलफलका क्रममा एमाले टोलीले तत्काल सरकार विस्तार गरेर मात्रै सदन बोलाएर बजेट पारित गराउन माग गरेको प्रदेश सरकारको प्रवक्ता शम्शेर राईले बताएका छन् ।

यता माओवादी केन्द्र एमालेसहितको सरकारमा सहभागी नहुने अडानमा रहेको एक सांसदले बताएका छन् । कांग्रेसका विद्रोही र एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ गते एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको सपथ लिएका छन् । ४७ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले कार्तिक १ गते विश्वासको मत लिँदा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ९१ प्रदेश सांसदमध्ये एमाले र गठबन्धनका ८६ सांसद विश्वासको मतको पक्षमा र राप्रपाका ५ सांसद विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्