झापा,कात्तिक १४। अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्ने क्रम जारी छ ।

सोमवार रोटरी क्लव अफ सुरुङ्गालगायतका संघ संस्थाले स्वागत सम्मान गरेका थिए भने मंगलवार एकका लागि एक अभियानले सम्मान गरेको छ । सहारा नेपाल साकोस चारपानेको सभाहलमा मंगलबार आयोजित कार्यक्रमका बीच नवनिर्वाचित समाजका अध्यक्ष मुकुन्द ढुङ्गानासहितका पदाधिकारीलाई खादा तथा मायाको चिनो प्रदान गरी स्वागत सम्मान गरिएको होे । त्यसक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले झापामा सञ्चालित एकका लागि एक अभियानसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष ढुङ्गानाले झापाको सामाजिक विकासका लागि एकका लागि एक अभियान र अन्तर्राष्ट्रिय झापाली समाजबीच सहकार्य रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले अन्तर्राष्ट्रिय क्षेत्रबाट झापामा लगानी भित्र्याउन आग्रह गरेका थिए । उनले व्यावसायिक क्षेत्रका समस्यामा परेका व्यवसायीलाई सस्तो ब्याजदरमा पुनः कर्जाको ब्यवस्था गर्ने योजना बनाउन अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीलाई सुझाव दिए ।
अन्तर्राष्ट्रिय झापाली समाजले झापा र झापालीको समुन्नत हितमा अतिआवश्यक क्षेत्रमा लगानी गर्ने योजनाअनुसारको काम गर्ने सोच बनाएको अध्यक्ष ढुङ्गानाको भनाई छ ।

एकका लागि एक अभियानका संयोजक गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष ढुंगाना, संरक्षक दिनेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, सन्तोष अग्रवाललगायतले मन्तव्य राखेका थिए ।
अभियानका सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष र महासचिवलाई रोटरी क्लव अफ सुरुङ्गालगायतका संघ संस्थाले स्वागत सम्मान गरेका छन् ।

आइतवार मात्रै झापाको बिर्तामोडमा सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष ढुङ्गाना, महासचिव नविन पोखरेल र अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष सुरुङ्गा निवासी दिनेश पोखरेललाई विशेष कार्यक्रमका बीच रोटरीलगायतका संघ संस्थाले सोमवार सुरुङ्गामा स्वागत सम्मान गरेका हुन् ।
रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष तथा प्याब्सनका केन्द्रीय सदस्य एलपी उप्रेती, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकीय स्थलका अध्यक्ष ख्याम सिटौला, कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहरा, शिक्षासेवी तथा रोटरीयन अखिल कोइराला, टिका जम्मरकट्टेल, डिल्लीराम मैनाली, भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ख्याम प्रसाई, नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य लीलाराज झापाली, कनकाई सुरुङ्गा प्रेस क्लबका सस्थापक अध्यक्ष तीर्थराज खरेललगायतले अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष ढुङ्गाना, महासचिव पोखरेललगायतलाई स्वागत सम्मान गरेका थिए ।

सोही अवसरमा यस क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय झापाली समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले अन्तर्राष्ट्रिय झापाली समाजले झापामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको बताउँदै यसलाई निरन्तता दिँदै जाने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्