झापा, कात्तिक १५ । घाँस काटिरहेको बेला कालो अरिंगालको टोकाइबाट इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ ।

हिजो बिहान ९ बजेतिर इलाम १२ साङरुम्बा बस्ने ५९ वर्षीय यामबहादुर लिम्बू र दशैँमा भेटघाट गर्न ससुराली आएका उनका ज्वाइँ सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष लिम्बूलाई अरिंगालले टोकेको थियो । छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिंगालको गोलो उनीहरुमाथि खनिएको थियो ।

दुवैलाई जिल्ला अस्पताल इलाम ल्याइ उपचार भइरहेकोमा सन्तोषलाई बढी टोकेका कारण थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड रिफर गरी पठाइएको थियो । त्यहाँ पनि उपचार संभव नभएपछि बिर्तासिटी अस्पताल ल्याइएकोमा साँझ ७.४५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । अवस्था सामान्य रहेका यामबहादुरको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्