झापा, कात्तिक १६ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले चालु बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। यस्तै राधिका आर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

यसैबीच संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ । सरकारले संसदको चालू अधिवेशन अन्त्यको सिफारिस गरेकोले आजको बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्न लागेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

प्रतिनिधिसभा बैठकमा आजै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गर्ने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएका सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८–७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९–८० पेश गर्ने कार्यसूची रहेको छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्