झापा, कात्तिक १७ । नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो ।

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । कुशल भुर्तेल २ चौका प्रहार गरी ८ रन बनाई आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए । ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको थियो । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पुरा गरेको थियो । नेपालले दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् ।

मूलपानी क्रिकेट मैदानमा यसअघि यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गर्दै १३४–९ को स्कोरमा रोकियो । चोटका वावजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चेका थिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे ।
सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।

ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्