झापा,कात्तिक १७ । नमूना संसद अभ्यासमा झापाका युवा सांसदहरुले जिल्लाका अनेकन समस्याहरु उठाएका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा भएको नमूना संसदको अभ्यासमा युवा सांसदहरुले जिल्लाका टड्कारो मुद्धाहरु उठान गरेका हुन् ।
संघीय संसदले कात्तिक १४ गतेदेखि झापाको बिर्तामोडमा २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई संसदको अभ्यास गराएको थियो । तीन दिनसम्म अभ्यास गरेका विद्यार्थीहरुले शुक्रवार नमूना संसदको अभ्यासलाई प्रस्तुत गरेका थिए । उनीहरुले प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुसहित नमूना संसदको प्रदर्शन गरेका हुन् । बिर्तामोडको सिद्धार्थ होटलमा विद्यार्थीहरुले संसदमा हुने बजेट भाषण, नीति तथा कार्यक्रम बाहेक सबै काम कारबाही प्रस्तुत गरेका थिए । सो नमूना संसदको सभामुख मोहनमाया माविका नविन तिवारी र प्रधानमन्त्रीको जिम्मेवारीमा शनिश्चरे माविकी जुनु पौड्याल रहेका थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोशी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीसमक्ष युवा सांसदहरुले संसदको अभ्यास गरेका थिए ।
नमूना संसदमा युवा सांसदहरुले झापाको जंगली हात्तीको समस्या, सुपारी खेती, यौन हिंसा, खाद्यवस्तुमा भइरहेको मिसावट, विदेशिएका युवालाई स्वदेश फिर्ता गराउने सवाल, दाइजो प्रथा, गुणस्तरीय शिक्षा, फोहोरमैला व्यवस्थापन, लागूऔषध नियन्त्रण, विद्यालयमा प्राथमिक उपचार, खेलमैदान व्यवस्थापनलगायतका विषयहरुमा भनाई राखेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोशी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, प्रतिनिधिसभा सदस्य हर्कमाया विक, अमृतलाल राजवंशी, कोशी प्रदेशका सांसदहरु छवि चुडाल, कमला थापामगर, गोपाल विक, बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाई, देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले धारणा राखेका थिए ।

अधिकांश वक्ताहरुले विद्यार्थीहरुमा संसदको अभ्यास गराएर उनीहरुलाई संसदीय काम कारबाही, कानुन निर्माण, सञ्चालन विधिबारे जानकारी गराएकोमा संघीय संसदलाई धन्यवाद दिए । उक्त कार्यक्रमले विद्यार्थीमा राजनीतिक चेतनाको विकाससँगै संसदीय अभ्यासको ज्ञान प्राप्त भएको उनीहरुको भनाई थियो । विद्यार्थीहरुले कार्यक्रममा सहभागी हँुदा संसदको अभ्याससँगै क्षमता विकासमा सहयोग पुगेको प्रतिक्रिया दिए ।

सहारा नेपाल र यूएनडीपीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्