बिर्तामोड, कात्तिक १७ । बिर्तामोड– ३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लि. ले १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

अनारमनी पव्लिक क्याम्पसको प्रांगणमा शुक्रवार विराट सहकारीले साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षता तथा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताहरुले विराट सहकारीले वित्तीय क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद कार्की , जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का , बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओली , महेन्द्ररत्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक सेढाईलगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा अध्यक्ष सिवाकोटीले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक केशवराज पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक साधारणसभामा स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार यस वर्ष समाजसेवी डिल्ली प्रसाईलाई प्रदान गरिएको छ । विराट भरत विश्रान्तिका अध्यक्ष प्रसाईलाई ११ हजार १११ रुपैयाँको सो पुरस्कार प्रदान गरिएको हो । त्यस्तै उत्कृष्ट बचतकर्ता द्रौपदाकुमारी गणेश , उत्कष्ट ऋणी अमिता ढुंगाना , उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि छत्र तिम्सिना , शेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने प्रज्वल सेलवाल र सुशिला महत्तोलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला , पूर्वमन्त्री खगेन्द्र प्रसाई , कंचनजघा अंग्रेजी विद्यालयका प्राचार्य गुरुभक्त न्यौपानेलगायतको आतिथ्यता रहेको थियो । उपाध्यक्ष होम सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव गणेश ओली र प्रवन्धक रुद्र सिटौलाले गरेका थिए । कार्यक्रममा गीत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

संस्था स्थापनाको १८ औं वर्षसम्म आइपुग्दा विराटमा कूल ३ हजार ५३८ जना शेयर सदस्यहरुले कारोबार गरिरहेका छन् । संस्थाको कूल शेयर पूँजी ६ करोड ४२ लाख ६६ हजार १०० रुपैयाँ रहेको छ । ४७ करोड ८८ लाख २९ हजार ३४ रुपैयाँ वासलात रहेको संस्थाले यस वर्ष ६१ लाख ३६ हजार ८३४ रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्